फर्नान्डेज र पोग्वाको गोलमा युनाइटेडको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्याचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जित हात पारेको छ । युनाइटेडले घरेलु टोली एस्टन भिल्लामाथि ३–० को सहज जित हात पारेको हो ।

भिल्ला पार्क बर्मिङघममा बिहीबार राति भएको खेलमा युनाइटेडको सहज जितमा ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड र पउल पोग्वाले गोल गरे । यस्तै युनाइटेड पछिल्लो १७ खेलसम्म अपराजित रहन समेत सफल भएको छ । युनाइटेड २३ जनवरीमा बर्नलीसँग २–० ले पराजित भएयता अपराजित रहेको छ । यसक्रममा युनाइटेडले १३ खेलमा जित हात पार्दा चार खेलमा बराबरीको नतिजा निकालेको छ ।

घरेलु टोलीविरुद्ध युनाइटेडले खेलको शुरुवात देखि नै पकड बनाएको थियो । २५औं मिनेटमा पल पोग्वाको प्रहार पोस्टमा लागेर बाहिरियो । त्यसलगत्तै २७औं मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत अग्रता बढाउने अवसर पायो । इज्री कोन्साले ब्रुनो फर्नान्डेजलाई पेनाल्टी बक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पायो जसमा फर्नान्डेजले गोल गर्दै यसनाइटेडलाई १–० को अग्रता दिलाए ।

३४औं मिनेटमा एन्थोनी मार्सियलको प्रहारलाई भिल्लाका गोलरक्षक पेपे रेइनाले बचाए । लगत्तै रेइनाले युनाइटेडको अर्काे प्रहारलाई पनि विफल पारिदिए । पहिलो हाफको इन्ज्युरी समयमा लुका साबाट मार्सियल हुदै आएको बललाई अनमार्क रहेका फर्नान्डेजले सदुपयोग गर्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा मार्सियालको पासमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि युनाइटेडले भिल्लालाई लगातार दवावमा राख्दै आक्रमण बुनिरह्यो । ५७औं मिनेटमा पोग्वाले गोलले मान्यता नपाएपनि लगत्तै पोग्वाले गोल गर्दै युनाइटेडलाई खेलमा ३–० ले अघि बढाए । उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्न सफल भएका थिए ।

६१औं मिनेटमा मार्सियलको प्रहार बारमा लागेर फर्कियो । इन्ज्युरी समयमा पोग्वाको अर्काे प्रहारलाई भिल्लाका गोलरक्षक रेइनाले बचाए । दोस्रो हाफमा भिल्लाले पनि केही आक्रमण बुनेपनि सदुपयोग गर्न नसक्दा युनाइटेड खेलमा ३–० ले विजयी हुन सफल भयो ।

जितसँगै युनाइटेडले शीर्ष चारको सम्भावनालाई जीवितै राखेको छ । पाँचौ स्थानमा रहेको युनाइटेडले तेस्रो स्थानको चेल्सीसँग २ तथा चौथो स्थानको लेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ । युनाइटेडको ३४ खेलबाट ५८ अंक पुगेको छ । चेल्सीको ६० तथा लेस्टरको ५९ अंक रहेको छ । पराजित एस्टन भिल्ला २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *