राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भदौ पहिलो साताबाट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भदौ पहिलो साताबाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु गर्ने तयारी थालेको छ ।नेपाल सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ बाट अन्तर्राष्ट्रिय खेललाई प्रशिक्षणको अनुमति दिएपछि क्यानले राष्ट्रिय टिमको प्रशिक्षण थाल्ने तयारी गरेको हो ।

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै सरकारले गरेको लकडाउनको कारण पछिल्लो चार महिनाबाट क्रिकेट गतिविधि ठप्प रहेको छ ।तर, सरकारले बनाएको गाइडलाइनको पालना गर्दै क्यान लामो समय ठप्प रहेको क्रिकेट फर्काउन लागिपरेको छ । फलस्वरूप भदौ १ बाट राष्ट्रिय टिमले प्रशिक्षण थाल्ने सम्भावना बढेको छ ।

राष्ट्रिय टिमको प्रशिक्षण थाल्न स्वास्थ्य मन्त्रालयको सहयोगमा क्यानले खेलाडी र त्रिवि मैदानका कर्मचारीको कोरोनाको पीसीआर परिक्षण गर्ने तयारी समेत गरेको छ ।‘क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले खेलाडीको पीसीआर परिक्षणका लागि सहमत जनाएको छ,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘साउनको अन्तिम भित्र सबै खेलाडीको कोरोना परिक्षण गर्नेछौं ।’

कोरोनाको कारण अधिकांश खेलाडी गृह जिल्लामा रहेका छन् । जसमा धेरै खेलाडी कोरोना प्रभावित जिल्लामा रहेका छन् । केहि खेलाडी भने काठमाडौंमै रहेका छन् ।काठमाडौं बाहिर रहेका खेलाडीलाई काठमाडौं झिकाउन क्यानले छलफल समेत गरिरहेको छ।

‘अधिकांश खेलाडी काठमाडौं बाहिर छन्, उनीहरुलाई बोलाउनेबारे हामी छलफलमा छौँ’, प्याकुरेलले थपे, ‘उनीहरुलाई बोलाउने पीसीआर परिक्षण गराउने र भदौको पहिलो साताबाट अभ्यासमा फर्काउनेबारे निरन्तर छलफलमा जुटेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *