होल्डरको घातक बलिङसँगै इंग्ल्यान्ड सस्तैमा समेटियो

एजेन्सी– कप्तान जेसन होल्डरको घातक बलिङसँगै पहिलो टेष्ट खेलको पहिलो इनिङमा घरेलु टोली इंग्ल्यान्ड २ सय ४ रनमा अल आउट भएको छ ।

साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो इनिङमा विहीबार दोस्रो दिन दोस्रो सेसनमा ६७.३ ओभरमै अल आउट हुन पुगेको छ । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रनको योगदान दिए । खराब प्रर्दशन गरेको इंग्ल्यान्डलाई छैटौं विकेटका लागि कप्तान बेन स्टोक्स र उप–कप्तान जस बटलरले ६७ रनको साझेदारी गर्दै केहि आशा दिलाएपनि त्यसलाई होल्डरले लामो समय टिक्न दिएनन् ।

५३.३ ओभरमा स्टोक्सलाई होल्डरले विकेटकिपर शेन डोरीचबाट क्याच गराएसँगै पहिलो इनिङमा इंग्ल्यान्डको ठूलो योगफलको आशा टाढिएको थियो । स्टोक्सले ९७ बलमा ७ चौका प्रहार गरे । होल्डरले लगत्तै ५५.४ ओभरमा बटलरलाई ३५ रनमा क्याच आउट गराउँदै आफ्नो दबाब कायम राखे । बटलरले ४७ बलमा ६ चौका प्रहार गरे ।

दोस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर शेनन ग्याब्रियलले ओपनर डोम सिब्लेलाई शून्यमा बोल्ड आउट गरेका थिए । अर्का ओपनर रोरी बन्र्सलाई पनि ग्याब्रियलले ८५ बलमा ४ चौका सहित ३० रनमा एलबिडब्लू आउट गरे । अम्पायरले ग्याब्रियलको अपिललाई अस्वीकार गरेपनि होल्डरले रिब्यू लिदैं रोरीलाई पेभिलिएन फर्काएका थिए । ग्याब्रियलले जो डेनलीलाई १८ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई दबाबमा राखेका थिए ।

त्यसपछि भने इग्ल्यान्डको इनिङ होल्डरले ध्वोस्त पारे । होल्डरले ज्याक क्रलीलाई १० रनमा एलबिडब्लू आउट गरे । होल्डरलेनै ३७.४ ओभरमा युवा ब्याट्सम्यान ओली पोपलाई १२ रनमा कट बिहान्ड आउट गरेपछि दबाबमा झनै थपिएको थियो । होल्डरले जोफ्रा आर्चरलाई शून्यमा एलबिडब्लूको शिकार बनाउँदै आफ्नो ब्यक्तिगत पाँच विकेट पूरा गरे । इंग्ल्यान्ड विरुद्ध उनले पहिलो पटक पाँच विकेट पूरा गरेका हुन् । उनको समग्रमा टेष्ट करिअरको भने सातौं पटक पर्दछ ।

अन्तिम विकेटका लागि स्पिनर डोम बेस र तीव्र गतिका बलर जेम्स एन्डरसनले ३० रनको साझेदारी गर्दै दुई सय रन कटाएका थिए । बेस ४४ बलमा ४ चौका सहित ३१ रनमा अविजित रहे । एन्डरसनलाई ग्याब्रियलले २० बलमा १ चौका सहित १० रनमा बोल्ड आउट गरे । वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले २० ओभरमा ६ मेडन सहित ४२ रन खर्चेर ६ विकेट लिए । अर्का तीव्र गतिका बलर शेनन ग्याब्रियलले १५.३ ओभरमा ३ मेडन राख्दैं ६२ रन खर्चेर ४ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *