बार्सिलोनालाई भार बनेका ग्रिजमन र कोउटिन्हो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई यसपटक ट्रान्सफर विन्डोमा खेलाडी भित्र्याउने भन्दा बढी क्लबमा रहेका खेलाडी बाहिर पठाउने समस्याले पिरोलेको छ । क्लबको तलब समिकरणमा सन्तुलन ल्याउन अहिले ठूलो चुनौतीको सामना गरिरहेको छ ।प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नरहेका खेलाडीलाई बाहिर पठाउने हो भनेपनि क्लबको समस्या हल हुन्छ । तर एकातर्फ खेलाडीको मोटो तलब र अन्य क्लबले ती खेलाडीलाई खरिद गर्न नसक्नुले पनि बार्सिलोनालाई समस्या परेको छ । विशेषगरी फरवार्ड एन्टोइन ग्रिजमन र मिडफिल्डर फिलिपे कोउटिन्होको स्थिति अहिले क्लबलाई भारी पर्न गएको छ ।

दुई वर्षअघि बार्सिलोनाले ग्रिजमनलाई ५ वर्षको लागि १ सय २० मिलियन खर्चेर अनुबन्ध गरेको थियो । अहिले उनको भाउ सोहि मूल्यमा मापन गर्र्दा ७२ मिलियन युरो हुन आउँछ । तर कुनैपनि क्लबले अहिले त्यो रकम खर्चने अवस्था छैन । अझ उनको मोटो तलब मागका कारण पनि अन्य क्लब हिच्किचाउनु स्वभाविक हो ।त्यस्तै मिडफिल्डर कोउटिन्होको पनि सम्झौतामा २ वर्ष बाँकी छ ।

उनको अनुबन्ध हेर्ने हो भने बार्सिलोनाले ४४ मिलियन युरो माग गर्दा क्लबलाई घाटा हुँदैन । तर पछिल्लो समय चोटका कारण मैदानबाहिर रहँदै आएका उनलाई त्यो रकम खर्चन सायदै कुनै क्लब राजी हुने देखिन्छ ।बार्सिलोनाले मेम्फिस डिपाए र सर्जियो अगुएरोको रुपमा आक्रमण बलियो पार्न खेलाडी अनुबन्ध गरेको छ । दुवै फ्रि ट्रान्सफरमा क्याटलान क्लब आएका हुन् । यस्तो अवस्थामा ग्रिजमन र कोउटिन्हो बेच्दा क्लबलाई आर्थिक रुपमा निकै सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *