युरोको पिडालाई ओलम्पिकमा मल्हम लगाउने स्पेनको लक्ष्य

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा रोकिएको स्पेनको राष्ट्रिय फुटबल टोलीका ६ सदस्य क्लब फुटबलमा आवद्ध हुनुअघि जापान प्रस्थान गर्दैछन् । युरोको उपाधि जित्न नसकेको पिडा ओलम्पिक स्वर्ण जितेर मल्हम लगाउने उनीहरुको लक्ष्य छ ।स्पेनका लागि युरोमा पहिलो रोजाइमा नै खेलेका ६ खेलाडीले ओलम्पिक टोलीमा पनि स्थान बनाएका छन् । गोलरक्षक उनाइ सिमोन, डिफेन्डरद्वय पाउ टोरेस र एरिक गार्सिया, मिडफिल्डरद्वय पेड्री र ड्यानी ओल्मोसँगै फरवार्ड मिकेल ओयाराज्बल ओलम्पिकमा स्वर्ण जित्न टोकियो प्रस्थान गरेका छन् । कागजमा हेर्दा स्पेनको टोली सबैभन्दा बलियो देखिन्छ ।

युरो खेलेका ६ खेलाडीबाहेक स्पेनले ३ सिनियर खेलाडी पनि टोलीमा थपेको छ । त्यसबाहेक स्पेनस ला लिगाको अनुभव बोकेका अरु खेलाडी पनि टोलीमा छन् । सिनियर खेलाडीका रुपमा रियल म्याड्रिडका ड्यानी सेबालोस र मार्को एसेन्सियोसँगै रियल सोसीडाडका मिडफिल्डर मिकेल मेरिनो टोलीमा छन् । यसबाहेक ओस्कार मिन्गुएजा, मार्क कुकुरेला, कार्लोस सोलेर, रफा मिर, ब्रायन गिल, मार्टिन जुबीमेन्डी लगायत नाम चलेका खेलाडी छन् ।

स्पेनको टोली अझै बलियो हुन सक्थ्यो । तर स्पेनबाहिर रहेका क्लबले आफ्नो खेलाडी ओलम्पिक टोलीमा आबद्ध हुन दिएनन् । म्यानचेस्टर सिटीका फेरान टोरेस, लिड्स युनाइटेडका रोड्रीगो तथा नेपोलीका फबियन रुइजलाई पनि टोलीमा राख्ने प्रशिक्षक लुइस डे ला फुएन्टेको योजना थियो । तर आरबी लाइप्जिगले ओल्मोलाई छोड्नुबाहेक अन्यले मानेनन् । केहि स्पेनिस क्लबले पनि आफ्नो खेलाडी छोड्न मानेका थिएनन्, तर उनीहरुलाई भने नछोड्ने विकल्प थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *