स्टार्क र हेजलवुडको घातक बलिङमा अष्ट्रेलिया सानदार जित

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्क र जोश हेजलवुडको घातक बलिङको सहयोगमा अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितका लागि २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिज २६.२ ओभरमा १ सय २३ रनमा अल आउट भयो । वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले ५७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । अल्जारी जोशेफले ३३ बलमा १ चौका र १ छक्का सहित १७ रन बनाए । शिम्रन हेटमायर ११ र हेडन वाल्श जुनियरले २० रन बनाए । घरेलु टोली वेस्ट इन्डिजका ७ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । चार खेलाडी खाता नखोलि पेभिलिएन फर्केका थिए ।

ओपनर ईभिन लुइसलाई पहिलो बलमै स्टार्कले कट एण्ड बोल्ड आउट गरेका थिए । तेस्रो ओभरको पहिलो बलमा स्टार्कले जेसन मोहम्मदलाई एक रनमा बोल्ड आउट गरे । अर्का तीव्र गतिका बलर जोश हेजलवुडले हेटमायरलाई चौथो ओभरको पाँचौं बलमा कट एण्ड बोल्ड आउट गरेपछि वेस्ट इन्डिजले खराब सुरुवात गरेको थियो ।

पाँचौं ओभरको चोथो बलमा स्टार्कले विकेटकिपर निकोलस पुरनलाई शून्यमा एलबिडब्लू आउट गरे । अर्को ओभरको अन्तिम बलमा हेजलवुडले ड्यारेन ब्राभोलाई मिचेल मार्शबाट २ रनमा क्याच आउट गराउँदा वेस्ट इन्डिज २३–५ को दयनिय अवस्थामा पुगेको थियो । हेजलवुडले जेसन होल्डरलाई शून्यमा क्याच गराउँदा वेस्ट इन्डिज ७.४ ओभरमा २७–६ को संकट अवस्थामा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *